संसदीय दलको नेतामा उम्मेदवारी दिएका कांग्रेस महामन्त्री गगन थापामाथि संस्थापन पक्षले रातभर निगरानी राखेको पाइएको छ । देउवा पक्षले रातभर प्रहरी परिचालन गरेर निगरानी गरेको स्रोतले जनाएको छ ।
संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाको काठमाडौंको दुईवटा होटलमा रातभर निगरानी गरिएको हो । प्रहरी स्रोतका अनुसार लाजिम्पाट स्थित होटल एम्बेस्डर र नक्साल स्थित पाँचचारे होटल मेरियटमा थापा पक्षको गतिविधि निगरानी गर्न प्रहरी परिचालन गरिएको छ ।
निगरानीका लागि प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका प्रहरी खटिएका छन् । लाजिम्पाट स्थित होटल एम्बास्डरबाट थापाको सचिवालयमा कार्यरत सविन राज मुडभरीसहितका थापा समर्थकले दुईजना प्रहरीलाई समातेर सोधपुछ गरेका थिए ।
मंगलबार राति कांग्रेस समर्थकले सर्च गर्दा उनीहरुको साथमा प्रहरीको परिचयपत्र भेटिएको सविन राज मुडभरीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । थापाको गाडीलाई ति व्यक्तिहरुलाई मोटरसाइकलमार्फत दिउँसोदेखि नै पछ्याइरहेको खुुलेको छ ।
उनका अनुसार प्रहरी नायव निरिक्षक (सई) सरोज भण्डारी र जवान आशिष क्षेत्रीको परिचयपत्र फेला परेको छ । उनीहरु दुवैजना विशेष ब्यूरोमा कार्यरत छन् ।
मंगलबार राति आफ्ना पक्षका नेता–कार्यकर्तासँग छलफलका लागि महामन्त्री थापा होटल एम्बेस्डर पुगेका थिए । छलफल सकेर उनी फर्किए ।
गगनको निगरानीमा नक्साल स्थित होटल मेरियटमा पनि प्रहरी परिचालन गरिएको हो । आज बिहान कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदै छ ।

