एकीकृत समाजवादीका नेता तथा पूूर्व प्रधानमन्त्री माधव नेपाल राष्ट्रपति बन्ने सम्भावना बढेको छ । बिहीबार सांसदको शपथ ग्रहण पछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले अबको राष्ट्रपति माधव नेपाल हुने सम्भावना रहेको बताएका हुुन् ।
उनले नेता रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुन सक्ने पनि बताए । अर्थमन्त्री शर्माले भने “ राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ । वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ ।
राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ । मैले देखेको दुईजना हुनुहुन्छ । रामचन्द्र पौडेल र माधव नेपाल हुनुहुन्छ,” उनले भने ।
शर्माले अबको सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिनुपर्ने बताएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका हुन् ।
उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा गठबन्धनमा छलफल हुन भने बाँकी रहेको स्पष्ट पारे । राष्ट्रपति राजनीतिक व्यक्ति हुने भन्दै उनले अहिले बाहिर आएको चर्चाले अर्थ नराख्ने बताए ।
यता, नेपालले भने राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्। नेपालले यसअघि २०६४ र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रश्ताव गर्दा अस्वीकार गरेको स्मरण गरे।
‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ। यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरे बमोजिम हुनेछ, नेपालले अगाडि भने,
‘राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो। २०७२ मा पार्टीबाट नै पस्ताव भएको थियो। मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो।’
सत्ता गठबन्धनमा भागवण्डा नमिलेको अवस्थामा यसपटक पनि नेपाललाई अरु दलले राष्ट्रपति बन्न प्रस्ताव गरेका छन्।