रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वको दाबीमा अग्रसता देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल चलाइएको बताएका हुुन् ।
बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढने भएकाले आफूहरु सोही अनुसार अघि बढने बताए ।
उनले संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहने बताए ।
सभापति लामिछानेले भने, ‘अब आम नागरिकले मतदान दिएर विश्वास गरेर पठाईसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन ।
हाम्रा नेतृत्वका सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल नचलाएको होइन हामीले । त्यसो हुनाले अब कुन ढंगले त्यो छलफल अघि बढछ भन्न सक्ने अवस्था रहेन । हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्नै छैन ।
यद्यपि कसैलाई पनि बहुमत नआएको परिवेशमा चौंथो ठूलो दलको रुपमा हामीेले पनि नेतृत्व गर्न सक्छौं कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौं ।
बाँकी हेर्दै जाउ । किनभने जनमत प्राप्त भएको ठूलो राजनीतिक दलले नै सरकार चलाउने हो । अब संवैधानिक व्यवस्थाअनुसार नै अगाडि बढनुपर्ने हुन्छ । सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा पनि हामी सचेत हुनुपर्छ ।’

