गण्डकीका नयाँ मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल बन्ने निश्चित भएको छ । उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता समेत हुन् । नेता पोखरेललाई कांग्रेस सहित माओवादी केन्द्रको समेत समर्थन छ । राष्ट्रिय जनमोर्चाको हकमा चाहिँ केन्द्रको नीति नै लागु हुने हुँदा उसले नयाँ बन्ने सरकारलाई समर्थन गर्ने निश्चित भइसकेको छ ।
अर्को जनता समाजवादी पार्टीले चाहिँ निश्चित माग राखेर सरकारमा जाने बताएको छ । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले हालका मुख्यमन्त्री एमालेका पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्ने निर्णय गरेपछि यहाँको सरकार फेरिने निश्चित भएको हो । उता नयाँ सरकारको नेतृत्व गर्न माओवादी पनि इच्छुक थियोे ।
स्रोतका अनुसार माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमान काठमाण्डौ पुगेर पुष्पकमल दाहाल प्रचण्डसँग आफूलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरिदिन अनुरोध गरेका थिए । तर, देउवाले प्रस्ताव अस्विकार गरे र, कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जवाफ फर्काए ।
त्यसपछि माओवादी केन्द्रको केन्द्रिय नेताले नै यहाँको माओवादी संसदीय दललाई कन्भिन्स गर्दै मुख्यमन्त्रीमा कांग्रेसलाई सहयोग गर्न बुधबार दिउँसो निर्देशन दिएको हो । माओवादीको उक्त निर्देशनसँगै गण्डकीमा कांग्रेसको सरकार बन्ने निश्चित भएको हो । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल आगामी मुख्यमन्त्री बन्नेछन् ।
बिहीबार बस्ने कांग्रेस संसदीय दलको बैठकले पोखरेललाई सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा उठाउने निर्णय गर्नेछ । पोखरेल नवलपरासी “क” बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्रीमा पोखरेल निर्विरोध जस्तै देखिएतापनि अन्य मन्त्रालयको भागबण्डाबारे भने कुराकानी सुरु नै भएको छैन ।
जनमोर्चाले मन्त्रीपरिषदमा सहभागी नहुने बताएपछि मन्त्रालयको भागबण्डामा कांग्रेस सहित माओवादी र जनता समाजवादी पार्टी छन् । हाल गुरुङ नेतृत्वको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहेक सरकारमा ६ वटा मन्त्रालय रहेका छन् । यी मध्ये भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय तीनै दलको रोजाइमा रहेका छन् ।