नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि तयार रहन प्रस्ताव गरेका छन् ।
संसद् भवन परिसरमा बिहीबार भएको छोटो कुराकानीमा ओलीले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको बताइएको छ ।
संसद भवनमा ओली र प्रचण्ड एउटै सोफामा बसेका थिए । बीच सो क्रममा दुई नेताबीच संक्षिप्त कुराकानी भएको र ओलीले प्रचण्डलाई ‘तयार हुनुस्’ भनेको स्रोतको दाबी छ ।
प्रचण्डनिकट स्रोतका अनुसार जवाफमा प्रचण्डले आनाकानी गर्दै तयार हुँदै छु भन्ने जवाफ फर्काएका थिए । संसद सचिवालयले आयोजना गरेको चियापनामा प्रधानमन्त्री शेरबहादुर देउवासहित अधिकांश सांसदहरू सहभागी भएका छन् ।
चियापान कार्यक्रममा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूबीच सौहार्दरूपमा संवाद भएका छन् । एउटै सोफामा बसेको ओली र प्रचण्ड पनि प्रफुल्ल देखिएका छन् ।
साविकको नेकपा भंग भएपछि एकअर्काको चर्को आलोचनामा उत्रिएका ओली र प्रचण्ड निर्वाचनको नतिजापछि एकअर्काप्रति नरम भएका छन् ।
सरकार गठनका विषयमा दलहरूबीच आन्तरिक रूपमा संवाद पनि भइरहेको छ । २७४ सांसदहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।