राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कर्मचारी मागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयका लागि उनले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका हुुन् ।
चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका हुन् ।
आफू जस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधा सहित आफैं एयरपोर्टमा लिन आउन तयार भएको बताएका छन् । यसका लागि आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन लामिछानेले अनुरोध गरेका छन् ।
यता, लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको बताएका छन् । गत सोमबार निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसंगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल सुरु भएको बताएका हुन् ।
अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको भन्दै उनले आफ्नो पार्टीले भने एजेण्डालाई सरकारमा लाने बताए ।
उनले जनतासँग गरेका प्रतिवद्धता र एजेण्डा पुरा गर्ने प्रतिवद्धता भयो भने परिवेश बेग्लै भएपनि सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको धारणा राखे । पार्टीले आफूलाई दलको नेतामा चयन पनि गरेको छ ।

