लिभरपुललाई गोलरहित बराबरीमा रोक्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा ३–१ को जित हासिल गरेको रियलले लिभरपुललाई रोक्दै प्रतियोगिताको अर्का चरणमा प्रवेश गरेको हो । लिभरपुलले पहिलो हाफमा गोलका थुप्रै अवसरहरू गुमाएको थियो ।
रियलका गोलकिपर थियाबट कोर्टवाले लिभरपुलका प्रयासहरूलाई विफल बनाएका थिए । उता, रियलका लागि करिम बेन्जेमाको प्रहार पोष्टमा लागेको थियो । रियल युरोपियन कप–च्याम्पियन्स लिगको सेमिफाइनलमा कीर्तिमानी ३० औँ पटक प्रवेश गरेको छ । रियलले अब सेमिफाइनलमा अर्को इङ्ग्लिस क्लब चेल्सीको सामना गर्नेछ ।
उता, बोरुसिया डर्टमण्डलाई हराउँदै म्यानचेस्टर सिटीले पनि सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । सिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो । पहिलो लेगमा २–१ को जित हासिल गरेको सिटी खेलको १५ ओँ मिनेटमा नै पछि परेको थियो ।
१७ वर्षीय जुट बेलिङहमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा रियल महारेजले पेनाल्टीबाट गोल गर्दै सिटीलाई खेलमा फर्काए । खेलको ७५ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । सिटीले अब सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।