सत्तारूढ दलहरुमा प्रधानमन्त्री पदको लागि छलफल भइरहेको छ । पछिल्लो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः प्रधानमन्त्री बन्ने चर्र्चा बढेको छ ।
राष्ट्रपतिले प्रधानमन्त्री दाबी गर्न आह्वान गरेको समय सकिन लाग्दा सत्तारूढ दल करिब करिब सहमति नजिक पुग्न लागेको बुझिन्छ । यस्तो अवस्थामा कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्ने अवस्थामा पुगेको बुझ्न सजिलो हुन्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच अनपेक्षित रूपमा विकसित सौहार्दता पनि यो वातावरण बल पुगेको हुनसक्ने विश्लेषण गरिन्छ । यद्यपि, गठबन्धनले आधिकारिक निर्णय नगरेसम्म यसो नै हुन्छ भन्ने टुङ्गो छैन ।
बुधबार र बिहीबार दुई कार्यक्रममा प्रचण्ड–ओलीको सौहार्दता निक्कै गज्जबको देखियो । उक्त सौहार्दता औपचारिक मात्र थियो या सन्देहात्मक रु उनीहरूलाई नै थाहा हुनुपर्छ । तर, ओली–प्रचण्ड हाउभाउले भने शेरबहादुर देउवाको मनमा नमज्जाले हुरीबतास चलायो ।
देउवा बारम्बार भन्ने गर्छन्– ‘एमाले र माओवादी मिले हामीलाई २०७४ कै अवस्थामा पुर्याउँछन् । त्यसैले माओवादीप्रति नकारात्मक धारणा राख्नु हुँदैन ।’
अर्थात, वर्तमान गठबन्धनबाट माओवादी अलग्गिए पुनः सत्ताबाहिर बस्नुपर्ने वास्तविकता देउवाले राम्ररी बुझेका छन् । त्यसैले सकेसम्म माओवादीका लागि त्याग गर्न देउवा तयार हुँदै आएका छन् । यसपटक पनि देउवा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न तयार हुनसक्छन् ।
यदि, देउवा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न तयार हुने हो भने प्रचण्ड प्रधानमन्त्री हुने पक्का छ ।