देश कोरोना महामारीको चपेटामा फसेपछि सम्पूर्ण व्यापार व्यवसाय बन्द भयो । आवात–जावात पूर्णरूपमा ठप्प हुन पुग्यो । भएभरको पैसा बैंकमा गएर थुप्रियो । अर्थतन्त्रका सूचकहरूले ओरालो यात्रा तय गरिरहँदा सेयर बजारले भने उकालो लाग्यो ।
त्यही बेला सरकारले पनि अनलाइन सेयर कारोबारलाई बढावा दियो । टीएमएसलाई थप प्रभावकारी रूपमा अघि बढायो र त्यसैको सकारात्मक असर सेयर बजारमा पर्यो । सरकारले अनलाइनबाट सेयर किनबेच गर्न सक्ने व्यवस्था गरेपछि सेयर बजार बुलिसतर्फ लाग्यो ।
कोरोना त्रास हालसम्म पनि जारी रहँदा १ वर्षमा नेपालको सेयरबजार २ हजार ७०० विन्दु माथि पुगेको छ । चैत ३१ गतेसम्मको अवस्थामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ७ सय १४ दशमलव ७९ विन्दुमा पुगेको हो । सेयरबजारले गति लिनुअघि निरन्तर ३ वर्षभन्दा बढी समय बजार ओरालो लागेको थियो ।
२०७५ फागुन १९ गतेदेखि बजार बढ्न थालेको देखिन्छ । उक्त दिन बजार १ हजार १०० दशमलव ५८ विन्दुमा थियो । पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक १ हजार ४ सय ६३ दशमलव ३४ अंक माथि पुगेको छ । कोरोना महामारीका बीचमा सेयर लगानीकर्ता मालामाल भएका छन ।
गत वर्ष चैत ९ गते नेप्से परिसूचक १ हजार २ सय ५१ दशमलव ४५ विन्दुमा थियो । बन्दाबन्दीकाबीच वैशाख ३० र ३१ गते खुलाइएको बजार दुवै दिन नकारात्मक सर्किटको प्रभावमा परेपछि नियामक निकायले पुनः बन्द गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ९८ दिन बजार बन्द गर्नुपरे पनि अनलाइन कारोबार प्रणाली अनिवार्य गरेसँगै बजारले गति लिएको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैत ११ गतेदेखि देशव्यापी रूपमा लागू गरिएको बन्दाबन्दी (लकडाउन) हुनुपूर्व चैत १० गतेदेखि नै सेयरबजार बन्द भएको थियो । नेप्सेले २०७५ कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणाली पूर्णरूपमा प्रयोग नहुँदा गत वर्ष ९८ दिन बजार नै बन्द गर्नुपरेको हो ।
गत असार १ गतेदेखि देशमा जारी बन्दाबन्दीको अवस्था खुकुलो भए पनि धितोपत्र दोस्रो बजार भने १५ दिनपछि मात्र खुलेको थियो । पूर्ण अनलाइन कारोबार प्रणालीकै कारण बन्दाबन्दीका बीच पनि नेपालको सेयरबजारले ऐतिहासिक विन्दुसँगै कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
यो १ वर्षमा नेप्सेमा एकै दिन १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । नेप्सेमा कारोबार रकमको ऐतिहासिक रेकर्ड २०७७ साल माघ २६ गतेको कारोबार दिनले रचेको हो । चैत ३१ गतेसम्म नेपालको सेयर बजारको कुल पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड ५० लाख ७१ हजार रुपैयाँ कायम भएको छ ।
यी आधार हेर्दा साँच्चै नेपालको सेयर बजारले १ वर्षमा काचुली फेरेको देखिन्छ । नेप्सेका अनुसार चैत ३० गतेसम्म दोस्रो बजारमा कारोबारका लागि ६ लाख ९४ हजारभन्दा बढी आबद्ध भएका छन् । यीमध्ये ५ लाख ७६ हजारभन्दा बढी अनलाइन कारोबार प्रणालीसँग जोडिएका छन् ।
एक वर्षअघि अनलाइन कारोबार प्रणालीमा आबद्ध हुनेको संख्या १ लाखभन्दा कम थियो । दोस्रो बजारले गति लिएसँगै प्राथमिक बजारमा पनि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । हाल धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही खाता खोल्नेको संख्या ३४ लाख २ हजार २०३ पुगेको छ ।
तर, सक्रिय लगानीकर्ता १५ लाखभन्दा बढी मात्र छन् । अनलाइन कारोबार प्रणालीकै कारण सेयर बजारले कोभिडको असरकाबीच पनि ऐतिहासिक रेकर्ड कायम गरेकाले नेप्सेले आफ्नो सिष्टमलाई भरपर्दो र प्रभावकारी बनाउन पनि सुझाव दिएका छन् ।