नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न कोटेश्वर पुुगेका छन् । यसअघि, आजै बिहान उनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आफ्नै निवासमा भेटेका थिए ।
भेटमा गठबन्धनलाई अगाडि बढाउनेबारे कुरा भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएकाले सहमति लागू गर्नुपर्नेमा जोड दिए भने पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर कुरा टुङ्ग्याउन भनेका अधिकारीले बताए ।
पौडेलले वर्तमान गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिँदै आएका छन् । तर गठबन्धनलाई निरन्तरता दिनको लागि भए पनि आफूले पहिला प्रधानमन्त्री पाउनुपर्ने प्रचण्डको अडान छ ।
सत्ता गठबन्धनमा ुपावर सेयरिङुको कुरा मिलिसकेको छैन । बिहीबार गठबन्धनका तीन शीर्ष नेताहरूबीच छलफल भए पनि निस्कर्षबिना सकिएको थियो । शुक्रबार पनि देउवा र प्रचण्डबीच भेट भएको थियो । तर भागबण्डामा कुरा नमिलेको बताइन्छ ।
सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा भोलि सकिँदै छ । सरकार गठबनका लागि माधव र प्रचण्डबीच पनि बिशेष छलफल हुुने बताइन्छ ।