नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का नवनिर्वाचित सांसद तथा सभापति रवि लामिछानेले चितवनस्थित आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दरखास्त आह्वान गरेपछि धेरैको नजर आकृष्ट भएको छ ।
रविले निर्वाचन क्षेत्रमा स्थापना गरेको कार्यालयका लागि कर्मचारी मागेका छन् । उनले पार्टी सभापतिका हैसियतमा भन्दा पनि एउटा सांसदको हैसियतमा गर्ने कामहरुको संयोजन गर्न यो पदको सिर्जना गरेका हुन् ।
रविले आफ्नो स्टाटसमा लेखेका छन्, ‘यो देशमा मान्छे बा’कसमा मात्र फर्किनुपर्छ भन्ने छैन । विदेशमा रहनुभएका व्यवस्थापनमा दख्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ ।’
रविले सीईओको आह्वान गर्दा नेपालको रोजगारी समस्यालाई सम्बोधन गरेको भाव व्यक्त गरेका छन् ।
उनी लेख्छन्, ‘कति बाक’समा मात्र फर्किने ? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नि, हैन त ? सुरूवात एकजनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला ।’
रविले आफ्नो कार्यालयमा नियुक्त हुने सीईओलाई ‘अति आकर्षक तलब-सुविधा दिने’ पनि बताएका छन् । तर, एउटा निर्वाचन क्षेत्रमा खोलिएको पार्टी कार्यालयको आम्दानी स्रोत के हुन्छ ? कहाँबाट पैसा ल्याएर सीईओलाई अति आकर्षक तलब खुवाउने हो ?
तर, मुुख्यरुपमा नेपालमा आर्थिक समस्या भोगेर बाहिरिएकाहरु खाडीका देशमा काम गरिरहेका छन् । अलि आर्थिक रुपमा मध्यमस्तरका युुरोप र अमेरिकातिर छन । जो अलि पढेर गएका र बौद्धिक छन् । तर, रविले खाडीमै श्रम गरिरहेकाहरुलाई सिइओ बनाउँछन् भन्ने पनि ग्यारेन्टी छैन ।
रवि लामो समय अमेरिका बसेर नेपाल फर्किएका हुन् । विदेशमा बसेर श्रम गरिरहेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरालाई उनले आफ्नो राजनीतिको एउटा अभिष्ट बनाउँदै आएका छन् । चुनावअघिको एउटा भाषणमा उनले आफ्नो कार्यकालमा विदेशबाट फर्किने सय जना नेपालीलाई स्वागत गर्न विमानस्थल पुग्ने घोषणा गरेका थिए ।

