खुमलटार पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल तितो जवाफसहित रित्तो हात फर्किएका छन् । नयाँ सरकार गठनमा कांग्रेसलाई पहिलो नेतृत्व दिन आग्रहका लागि पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन खुमलटार पुगेका उनी निरास भएर फर्किएका हुुन् ।
वर्तमान सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन भए पहिलो ‘लट’मा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडानमा देखिएका दाहालसँग छलफल गर्न कांग्रेस वरिष्ठ नेता पौडेल शनिबार बिहान खुमलटार पुगेका थिए।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्नुअघि कांग्रेस नेता पौडेल र अध्यक्ष दाहालबीच छलफल भएको हो। स्रोतका अनुसार नेता पौडेलसँगको छलफलमा पनि आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानमा दाहालले यथावत् राखेका छन्।
सत्तारुढ गठबन्धन फुुटको डिलमा पुुगेको छ । खासगरी कांग्रेसले राष्ट्रपति र प्रधामन्त्री दुुवैमा दाबी नछोडेपछि गठबन्धन आजै भत्किन सक्ने देखिएको छ ।
प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा (माओवादी केन्द्र) प्रतिपक्षमा बस्ने भएको बताएको छ ।
आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो ।
तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने एक पदाधिकारीले बताए ।अब गठबन्धन रहने वा नरहने देउवाकै हातमा भएको माओवादी नेताहरुले बताएका छन् ।
‘हामीले गठबन्धनको इमान्दारिताका साथ पालना गरेका छौं । चुनाव लगतै प्रचण्ड कमरेडलाई प्रधामन्त्री बनाउने भद्र सहमति भयो । त्यसैले पहिलो चरणको प्रधानमन्त्री आधा कार्यकालको पहिलो चरण माग गरेका
-हौं’ ति पदाधिकारीले भने, ‘अहिले कांग्रेस नेताहरु राष्ट्रपति र प्रधानमन्त्री मेरै हुनुपर्छ भन्छन् । त्यसरी समझदारी गरेर जान सकिँदैन । बरु प्रतिपक्षमा बसेर पार्टी र संगठन बनाउनुपर्छ भन्ने सुझाव दिएका छौं ।’