राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट हान्निएका छन् । सत्ता गठबन्धन फुुटको सम्मुुखमा पुुगेको र औपचारिक घोषणा मात्र हुन बाँकी देखिएपछि राजनीतिक माहोल तातेको छ ।
एमाले नेताहरु माओवादीसँगको सम्भावित गठबन्धनको प्रयासमा लागिरहेका बेला लामिछाने पनि बालकोट पुगेका हुन् । लामिछानेको दलसँग २० जना सांसद छन् । उनी पनि आफ्ना एजेण्डा सम्बोधन हुने देखिए सरकारमा जान तयार छन् ।
सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा आफ्ना अडान नछाडेपछि बैठक निष्कर्षबिना नै टुंगिएको थियो ।
अहिले सरकार गठनका लागि दलका नेताहरू निर्णायक छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन् ।

