प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुबै नेपाली कांग्रेसले छाड्न नसक्ने अन्तिम निर्णय गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरासर बालेकोट लागे ।
गठबन्धन टुटेको घोषणासहित प्रचण्डले बालुवाटार बैठक छाडेपछि कांग्रेस नेता रामचन्द्र पौडेलको प्रारम्भिक प्रतिक्रिया थियो, ‘गठबन्धन टुट्यो, अब हाम्रो हातमा केहीपनि रहेन।’ यो नयाँ परिस्थितिका लागि पौडेलले कांग्रेस सभापति देउवालाई दोषी ठहर्याएका छन्।
‘शेरबहादुर देउवाबाट प्रचण्डलाई धोका भयो’ उनले भनेका छन्, ‘जे भयो, त्यसमा प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन।’
अन्तिम सम्म पनि देउवाले प्रधानमन्त्री छाड्न चाहेनन्। पौडेलसँगको ‘भद्र सहमति’ का कारण बरु राष्ट्रपति हामीलाई नभएपनि हुन्छ पनि भन्न सकेनन्।
सत्ता गठबन्धनको बैठकमा देउवाले प्रधानमन्त्री दावी गरिरहने, पौडेल लगायतका नेताहरुले ‘राष्ट्रपति पनि कांग्रेसले पाउनुपर्छ’ भनिरहने भयो।
आलोपालो सहमतिमा ओलीबाट धोका खाइसकेका प्रचण्ड भने देउवाबाट पनि धोका खान तयार थिएनन्। धोकाका बाबजुद चुप रहि रहनुपर्ने बाध्यता पनि उनलाई थिएन। कांग्रेसको साथ छाड्नासाथ एमालेले किस्तीमा राखेर प्रधानमन्त्री दिने पक्का छँदै थियो।
देउवाको हठका कारण आइतबार मध्यान्हपख सत्ता गठबन्धन टुट्यो। एक हप्ता प्रयास गर्दासमेत देउवाबाट प्रधानमन्त्री बन्ने प्रस्ताव नपाएका प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी तीन घण्टा पनि नबित्दै ओली निवास बालकोटमा नयाँ समीकरण निर्माण भयो।

