देशको राजनीतिमा आइतबार केही घण्टामै ट्वीस्ट आएर नयाँ सत्ता गठबन्धनको निर्माण भएको छ । मंसिर ४ गतेको चुुनावमा पहिलो शक्ति बनेको नेपाली कांग्रेसले बेलैमा होस नपुुर्याउँदा एमालेले यसको फाइदा उठाएको छ ।
देश विदेशमा अहिले बनेको गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । यसैक्रममा, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले नयाँ सत्ता गठबन्धन बन्नु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जीत भएको दाबी गरेका छन् । बीबीसी हिन्दीसँग कुराकानी गर्दै रेले यस्तो बताएका हुुन् ।
उनले भने, ‘यसमा सबैभन्दा ठुलो जित केपी ओलीको हो । उहाँ प्रतिपक्षमा हुनुहुन्थ्यो, अहिले एक्कासि सत्ताको केन्द्रमा पुग्नुभएको छ ।
ओलीले आफ्नो राष्ट्रपति, सभामुख बनाउने र बाँकी राजनीतिक नियुक्ति पनि उहाँकै हातमा हुनेछ । राजदूत नियुक्तिमा पनि ओलीकै चल्नेछ ।’
अर्कोतर्फ नेपाली कांग्रेस जितेर पनि हारेको उनको भनाई छ । ‘अब नेपाली कांग्रेससँग केही छैन । कुनै प्रदेशमा पनि कांग्रेसको सरकार बन्दैन ।
प्रचण्ड सहमत नभएको भए देउवाले उनलाई प्रधानमन्त्री बन्नुपर्थ्यो । नेपाली कांग्रेसका धेरै सांसद थिए र प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए पनि उनको मनमानी चल्ने थिएन ।’
रे भन्छन्, ‘देउवा डेढ वर्ष प्रचण्डको समर्थनबाटै प्रधानमन्त्री भएका थिए । शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । यस्तो अवस्थामा उनले जिद्दी हुनुको साटो समझदारी देखाउनुपर्थ्यो ।’

