हालसालै व्यवसायमा हात हालेकी अभिनेत्री पूजा शर्मालाई चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्ती दिइएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री शर्मालाई महिला चलचित्र ससक्तिकरण समितिको सदस्यमा नियुक्त गरेका हुुन् ।
बोर्ड बैठकले उनलाई महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेको हो । महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शो’षण एवं विभे’दवि’रुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो ।
एक दशकदेखि पूजा फिल्म करिअरमा व्यस्त छिन् । बोर्डले बुधबार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।
अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो कलाकार बनेका छन् । सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरेको थियो । जसअनुसार अधिकारीलाई बीमा कम्पनीले ४६ हजार ६ सय रुपैयाँ प्रदान गरेको हो ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरे । उक्त कार्यक्रममा कलाकारहरु मदनदास श्रेष्ठ, दिनेश डिसी, पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिति थियो ।
विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई बोर्डले विभिन्न किसिमका सुविधा प्रदान गर्ने योजना अनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको थियो । यस कार्यक्रम अन्तर्गत परिचयपत्र प्राप्त गर्ने १०२ जना चलचित्रकर्मीमध्ये ९८ जनाको बीमा गरिएको थियो ।