मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँ र संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई राज्यका राजपरिवार सदस्य जुमा अल मोक्तुमबीचको सम्बन्धमा ट्वीस्ट आएको छ । आफूूको सम्बन्धको विषयलाई बढाईचढाई गरेको भन्दै मोक्तुम उनीसँग आगो भएको स्रोतले जनाएको छ ।
प्रसाईंले गत असारमा मोक्तुमलाई नेपाल बोलाएर झापा र पोखराको भम्रणसमेत गराएका थिए। बीएमसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्या’न्सर अस्पताल, बिर्तामोडका सञ्चालक प्रसाईँले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग समेत बालकोटमा मोक्तुमलाई भेट गराएका थिए।
कामभन्दा हल्ला बढी गरेर चर्चामा आउन खोज्ने प्रवृत्तिका कारण प्रसाईंसँग मोक्तुमको सम्बन्ध बिग्रिएको हो। दुर्गाले हरेक गतिविधिमा दुबईका राजकुमार भन्दै प्रचार–प्रसार गरेपछि त्यहाँ परिवारका सबै झस्किएका थिए।
मोक्तुम दुबईको राजपरिवारभित्रका सदस्य हुन्। तर, दुबईका राजकुमार (राजाकै छोरा)भने होइनन्। राजपरिवारभित्रकै सदस्य भएका कारण उनलाई राजकुमारको पदवी दिइएको हो।
मोक्तुम नेपाल आएकाबेला प्रसाईँले आफ्नो व्यवसाय यूएईमा विस्तार गर्ने र त्यसको लागि सहज वातारण बनाइदिन अनुरोध गरेका थिए। उनले नेपालको पानी, तरकारीलगायतका कृषिजन्य सामाग्री यूएईको बजारमा पुर्याउने बताएका थिए।
यस्तै, नेपालमा सरकारले मेडिकल कलेज खोल्न अनुकुल बातावारण नबनाइदिएकोले आफूले मोक्तुमसँग मिलेर दुबईमा ठूलो मेडिकल कलेज सञ्चालन गर्ने समेत घोषणा उनले गरेका थिए।
मोक्तुमले नेपाल आगमनका क्रममा प्रसाईंलाई सुनको जस्तो देखिने ‘गोल्डेन’ लौरो उपहार दिएका थिए। यो लौरोले पनि नेपालमा निकै चर्चा पाएको थियो।
यस्तै, प्रसाईँले आफूसँगको व्यक्तिगत सम्बन्धलाई राजपरिवारसँग जोडेर प्रचार–प्रसार गरेको कुरा मोक्तुमलाई पनि मन नपरेको स्रोत बताउँछ। प्रसाईँ गत अक्टोबरमा दुबई पुगेका थिए।
उनले छिट्टै अर्को भेटघाट गर्ने बताएपनि त्यसपछि राजकुमार मोक्तुमले प्रसाईँलाई भेट दिएनन्। प्रसाईँले मोक्तुमलाई भेट्न धेरै प्रयास गरेका थिए। तर, मोक्तुमले भने भेटका लागि समय नदिएपछि प्रसाईँ खिन्न हुुदैँ नेपाल फर्किएको स्रोतको दाबी छ ।

