उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले न्यूनतम साझा कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन भएको भन्दै दिएको सूूचना गलत रहेको पाइएको छ । सत्तारुढ दलको बिहीबार बसेको बैठकले नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरूबीच सहकार्य र समन्वय गर्न उच्चस्तरीय समिति गठन गरेको थियो ।
तर, बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले न्यूनतम साझा कार्यक्रम बनाउन एमाले अध्यक्ष ओलीको संयोजकत्वमा समिति गठन भएको सूचना दिए । बैठकपछि उनले भनेका थिए, ‘प्रमुख सत्ता साझेदार दलहरूको बैठक बस्यौ । केही दलका साथी उपस्थित हुन पाउनु भएन ।
बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गर्यो । र, प्रमुख सत्ता साझेदार दलको संयोजकका रूपमा एमाले अध्यक्ष ओलीलाई अगाडि बढाउने निर्णय भयो । ५ दिनभित्र न्यूनतम कार्यक्रम तय गर्ने निर्णय भयो ।’
तर, न्यूनतम साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन भएको रहेछ । उक्त समितिमा एमालेबाट अर्थमन्त्री पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वापबाट डा। मुकुल ढकाल र राप्रपाबाट धवल शमशेर राणा रहेको समिति बनेको रहेछ ।
तर, गृहमन्त्री लामिछानेले पूरा सूचना नदिँदा गलत समाचार प्रकाशन प्रशारण भएको हो । ‘हिजोको सूचनामा केही फरक परेछ । एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको हो,’ गृहमन्त्री लामिछाने निकट एक सदस्यले भने ।
शुक्रबार बेलुका नै एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय समिति र अर्थमन्त्री पौडेलको नेतृत्वमा न्यूनतम साझा कार्यक्रम बनाउन समिति बनेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरूका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम साझा कार्यक्रम मस्यौदा समिति गठन भएको छ । यसबाट नयाँ सरकारको काम जनअपेक्षा अनुरुप अघि बढाउन सहयोग पुग्ने नै छ ।’
न्यूनतम साझा कार्यक्रम बनाउन गठित अर्थमन्त्री पौडेल नेतृत्वको समितिको बैठक आज बसेको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले दलहरूले सार्वजनिक गरेको घोषणापत्र अनुसार साझा कार्यक्रम बनाउने विषयमा छलफल भएको छ ।

