राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उप प्रधान तथा गृहमन्त्री रवि लामिछाने बाक्लो रुपमा गठबन्धनका शीर्ष नेताहरुलाई भेट्न थालेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज (शनिबार) विहान भेटेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटको बटो तताएका छन् ।
लामिछानेले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग छलफल गरे लगतै एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् । ओली र लामिछानेबीच सरकारका नीति तथा कार्यक्रम, प्रधानमन्त्रीको विश्वासको मत, मन्त्रीमण्डल विस्तार र शक्ति बाँडफाँडको विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच शनिबार बिहान समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच कसरी पुर्याउन सकिन्छ, सरकारका काम कारबाही प्रभावकारी ढंगले कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।
सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीति, शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको विषयमा प्रचण्ड–ओली र लामिछानेबीच निरन्तर संवाद भइरहेको छ । नयाँ सत्ता गठबन्धनमा एमाले पहिलो, माओवादी दोस्रो र रास्वपा तेस्रो दल हो ।
प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको पहिलो बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउने निर्णय गरेको थियो । उक्त संयन्त्रमा नयाँ सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरू रहने छन् ।
सत्ता साझेदार दलको संयन्त्रले पाँच दिनभित्र सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्ने भएको छ । नयाँ सरकारका न्यूतनम साझा कार्यक्रम तय गर्न एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन भएको छ ।
समितिमा माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट डा। मुकुल ढकाल, राप्रपाबाट डा। धवलशमशेर राणा रहने भएका छन् । समितिमा जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीबाट पनि सदस्य थपिने भएका छन् ।
बैठकमा उनीहरूको उपस्थिति नभएको कारणले सदस्य नतोकिएका हो । प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेकपा (एमाले) को अग्रसरतामा विभिन्न सात दल र तीन स्वतन्त्र सांसदहरूको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा वर्तमान सरकार गठन भएको हो ।
बालकोटको बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ । प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन् ।
यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन् । प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
नागरिकता र पासपोर्ट विवादमा
गृहमन्त्री लामिछानेको नागरिकता र पासपोर्ट विवादमा रहेको छ । उनको योग्यताविरुद्ध युुवराज सफलले दायर गरेको रिटमा सर्वोच्च अदालतमा पुुस २२ गते सुुनुुवाई हुुन लागेको छ । उनी आफ्नो नागरिकता र पासपोर्टमा पनि शंसकित छन् । एकपटक त्यागिसकेको नेपाली नागरिकता अमेरिकाबाट फर्किएपछि नब्युुताएको आ’रोप उनीमाथि छ ।
कतिपय राजनीतिक जानकारहरुका अनुुसार लामिछानेले आफ्नो नागरिक वैध नठहरिने भएका कारण सरकारमा जान पनि हतार गरेको दाबी गरेका छन् ।



