यसअघि २ पटक प्रधानमन्त्री बनिसकेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको पोसाकले तेस्रो पटक प्रधानमन्त्री बनेर शपथ खाँदा खुुब चर्चा बटुुल्यो । उनले यसअघि सुट र टाई माथि कालो टोपी लगाएर शपथ खाएका थिए ।
त्यो बेला पहिचानको वकालत गर्ने पार्टीका प्रमुखले विदेशी पोशाक लगाएर शपथ खाएको भनेर निकै आलोचना खेप्नुपरेको थियो ।
त्यसैले यसपालि प्रचण्डलाई दौरा सुरुवाल लगाउन धेरैले सुझाव दिएका थिए । यद्यपि, प्रचण्डले लगाउने पोशाकबारे निर्णायक छलफल चाहिँ शीतल निवासमा भएको रहेछ ।
गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्दै ७ दलका नेताहरू शीतल निवास पुगे । त्यस बेला भएको अनौपचारिक कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण समारोहमा लगाउने पोशाकबारे प्रचण्डसँग चासो राखेकी थिइन् ।
स्रोतका अनुसार सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर पेस गरिसकेपछि राष्ट्रपति भण्डारीले प्रचण्डसँग प्रश्न गरेकी थिइन्, ‘शपथ ग्रहणमा कस्तो पोशाक लगाउने विचार गर्नुभएको छ रु सकेसम्म दौरा सुरुवाल लगाउनुभए राम्रो हुन्थ्यो ।’
प्रचण्डले सिधा जवाफ दिन सकेनन् । तर, त्यहाँ उपस्थिति सबै नेताहरूले दौरा सुरुवाल नै लगाउनुपर्नेमा जोड दिएको स्रोतले बतायो ।
पार्टीकै सहकर्मीबाट पनि यस्तो सुझाव आएपछि प्रचण्ड गम्भीर बनेका थिए । उनले आफू दौरा–सुरुवालको विरोधी नभएको स्पष्टीकरण दिए ।
‘दौरा–सुरुवालप्रति मलाई आपत्ति होइन । देशमा सबै जातजातिले आ–आफ्नो पोशाक लगाउनुपर्छ भन्ने नै हो । हाम्रो यो मान्यता स्थापित भइसकेको छ,’ उनले भने ।
तर, शपथ ग्रहणमा के लगाउने भनेर स्पष्ट जवाफ दिन भने सकेनन् । बरु उनले आफूसँग दौरा–सुरुवाल नभएको बताएर टार्न खोजेका थिए ।
शीतल निवासको छलफलपश्चात् प्रचण्डले आफ्ना केही निकटस्थ र परिवारका सदस्यहरूसँग समेत सल्लाह लिए । सबैबाट दौरा सुरुवाल लगाउँदा नै शपथग्रहण समारोहको गरिमा रहने सुझाव पाएपछि प्रचण्ड अन्ततः सहमत भएको खुुलेको छ ।

