नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोडजाड गरेर १६९ सांसदको समर्थन जुुटाएका छन् । तर, उनी नेतृत्वको सरकार ७ दलीय गठबन्धनको भएकाले जुुनसुुकै बेला ढल्न सक्छ ।
७ दलमध्ये सबैभन्दा बढी चिन्ता प्रचण्डलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को छ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन त गरेको छ। तर, उसले आफ्नो बटमलाइन नहेरे बाहिरिने चेतावनी पनि दिएको बताइन्छ ।
राप्रपासहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डमाथि पुस २७ गते पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउँदै सार्वजनिक विदा दिनुपर्ने दबाव सृजना भएको छ।
किनभने राप्रपाले सरकारमा सहाभागिता जनाउन पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै सार्वजनिक विदा दिनुपर्ने बटमलाई अघि सारेको छ।
पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस सार्वजनिक विदा लिएर राष्ट्रिय एकता दिवस नमनाए सरकारमा सहभागी हुने बाटो बन्द हुने राप्रपाले चेतावनी दिइसकेको छ।
राप्रपाको सो मागप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी सकारात्मक छन्।
तर यो विषयमा प्रधानमन्त्री प्रचण्डले भने कुनै निर्णय गरिसकेका छैनन्। उनी राप्रपाको समर्थन गुमाउन पनि चाहँदैनन्, तर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलकै क्रममा छन्।
राप्रपाले आफ्नोतर्फबाट सरकारको न्युनतम साझा कार्यक्रममा पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने गरी समावेश गरेको छ।
पुस २६ मा विश्वासको मत लिने तयारी
प्रधानमन्त्री प्रचण्ड’ले पुस २६ मा विश्वासको मत लिने भएका छन्। उनले संसद् सचिवालयलाई पत्र पठाएर पुस २६ का लागि कार्यसूचीमा राख्न अनुरोध गरेका छन्।
‘२०७९ साल पुस २६ गतेको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु’, प्रधानमन्त्री प्रचण्डले संसद् सचिवालयलाई पठाएको पत्रमा भनेका छन्।

