कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको एक भिडियो टिक टकमा भाइरल भएको छ । चन्द्रागिरिस्थित भालेश्वर मन्दिरका मुल पुजारी विदुर न्यौपाने सामाजिक सञ्जाल टिकटकमा राखेको दीपक दीपाको भिडियो चर्चामा आएको हो ।
भिडियोमा दीपकलाई खैरो छालाको जुत्ता, जिन्स पाइन्ट, कुर्था र त्यसमाति ज्याकेटमा र दीपालाई साडीमा देख्न सकिन्छ । भिडियोमा दीपकले पश्चिमी शैलीमा भनेका छन्, ‘भालेश्वर दर्शन आया हो, गुरुबासँग भेट भया हो, अब भालेश्वरले हामी सबैलाई रक्षा गरुन्। जय होस्।’
दीपकले यति भन्दै गर्दा सबैको ध्यान भने दीपाले तान्छिन्, विवाह नभएकी उनको सिउँदोमा सिन्दुर देखेपछि दर्शकले विभिन्न अड्कबाजी गरेका छन्। उनीहरूले दीपाको विवाह भएको त होइन भन्ने प्रश्नसमेत तेर्स्याएको देखिन्छ।
भिडियोलाई अहिलेसम्म १२ लाखभन्दा बढिले हेरिसकेका छन् । यसबारे दीपकलाई सोध्दा चलचित्र ‘छक्का पञ्जा ४’को छायांकनको क्रमको दृश्य रहेछ यो। त्यहि उनले दीपकले भिडियोमा पनि पश्चिमेली शैलीमा बोलेका रहेछन्।
‘हामी छक्का पञ्जा ४ को सुटिङका लागि चन्द्रागिरि गएका थियौं,’ उनले भने, ‘गुरुबाको आग्रहमा टिकटक बनाएका हौं।’ आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुतमा दीपक–दीपाले बनाएको फिल्मलाई हेमराज बीसीले निर्देशन गरिरहेका छन्।
निर्माण टिमका अनुुसार चलचित्रको छायांकनसँगै पोस्ट प्रोडक्सनको काम पनि सँगै हुँदैछ। केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्म आगामी फागुन १९ गते देशभर प्रदर्शन हुने बताइएको छ ।