प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई साविकको स्थानमा कामकाजको व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृहमन्त्रालयलाई यस्ूतो निर्देशन दिएको हो ।
गृहमन्त्रालयले अनावश्यक रुपमा विभिन्न व्यक्तिको सुरक्षा, सहयोग, चालकको रुपमा खटिएका प्रहरी कर्मचारीहरुलाई फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले ३५ जना सवारी चालकलाई फिर्ता नगरिदिन निर्देशन दिएपछि लामिछाने झस्किएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन शाखाका शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेले गृह मन्त्रालयलाई पठाएको पत्रमा लेखिएको छ, ‘प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (प्र.म. निवास), बालुवाटारमा कार्यरत सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर रुपमा कामकाज गर्ने गरी व्यवस्थापन हुन आदेशानुसार अनुरोध छ ।’
कार्यालयले बालुवाटारमा कार्यरत सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर रुपमा कामकाज गर्ने गरी व्यवस्थापन मिलाउन कार्यालयले आदेश दिएको हो ।
कार्यालयले ३५ जनाको नामावली गृहमा पठाएको छ । जसमा १३ जना प्रहरी जवान र १४ जना हवल्दार छन् । चार जना प्रहरी सहायक निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एक प्रहरी नायव निरीक्षक, एक वरिष्ठ हबल्दार र एक सहायक हबल्दार छन् ।