कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। कर्णाली प्रदेशसभामा ठूलो दल नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो।
एमाले संसदीय दलको बैठकले यही चैत ५ गतेदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । उनी माओवादी केन्द्रका नेता हुन्। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सो समयसीमा शुक्रबार सकिँदैछ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेसँगै नेकपा एमाले र माओवादी केन्द्रले कांग्रेसलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन्। एमालेले विश्वासको मत असफल बनाउन र माओवादीले विश्वासको मतमा बहुमत जुटाउन नेपाली कांग्रेसको साथ खोजेको हो। दुवैको तानातानमा कांग्रेस छ ।
३९ सदस्यीय कर्णाली प्रदेशमा नेकपा एमालेको एक सभामुखसहित २० सांसद रहेका छन् । यस्तै माओवादी केन्द्रको १२, कांग्रेसको ६ र राप्रपाको १ सिट रहेको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाहीले नेपाली कांग्रेस, राप्रपा र एमालेभित्रकै माधव नेपाल समूहको कम्तीमा एक सांसद आफूतिर तान्नुपर्ने देखिन्छ ।