प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले को विश्वासको मत नलिदैँ कांग्रेसले सरकार ढाल्ने प्रयास गरेको छ । पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई ढाल्न कांग्रेसले तुरुप फालेको हो ।
जसअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ।
एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर निकाल्नसके दाहाल नेतृत्वको सरकार तत्कालै ढाल्न सकिने विश्लेषण गर्दै कांग्रेस सभापति देउवाले लिङ्देनलाई प्रधानमन्त्री नै अफर गरेका हुन्।
राप्रपाका एक नेताले देउवाबाट प्रधानमन्त्रीको प्रस्ताव आएको पुष्टि गर्दै भने, ‘प्रधानमन्त्रीको प्रस्ताव आएको हो। यस विषयमा हामीले निर्णय गरिसकेका छैनौँ।’
ती नेताले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरिसकेकाले उसले आफ्ना माग पूरा गरेको अवस्थामा उनैलाई विश्वासको मत दिने बताए।
‘हामीले प्रधानमन्त्री दाहाललाई समर्थन गर्छौँ भनिसकेका छौँ। त्यसैले उहाँहरुसँगको हाम्रो सहयात्रा कहाँसम्म अघि बढ्ने हो भन्ने कुरा उहाँहरुकै हातमा छ,’ अध्यक्ष लिङ्देनका विश्वासपात्र राप्रपाका एक नेताले भने।
सत्ता गठबन्धनले शुक्रबार न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिँदैछ। त्यसमा राप्रपाका केही थप माग हुनेछन्। कांग्रेसले राप्रपालाई एमाले–माओवादीको गठबन्धनबाट बाहिर निकाल्न सके एकीकृत समाजवादी र जसपालाई पनि आफ्नै कित्ता उभ्याउन सकिने आँकलन गरेको छ।
दाहालले माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवसहित १६९ जना सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्रीको नियुक्ति लिएका थिए।
बिहीबार कांग्रेस सभापति देउवालाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका थिए। समाजवादीका अध्यक्ष माधव नेपाल पनि कांग्रेससँगको कुराकानीमा छन्। पुस २६ गते संसदमा दाहालको विपक्षमा १४१ जना सांसद पुर्याउने मिसनसाथ कांग्रेस अघि बढेको एक नेताले जानकारी दिए।