काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नीसहित इन्डोनेसियाको जकार्तामा छन् । पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइन प्रवेश गरेका दुई नेपाली टोलीको हौसला बढाउन उनी इन्डोनेसिया गएको बताइएको छ ।
उनले आफ्नो फेसबुक पेजमा एक पोस्टसमेत गरेर नेपाली टोलीहरु डीआरएस गेमिङ र टीटुके समूहलाई शुभकामना दिएका छन् । बालेनबारे जानकार स्रोतका अनुसार उनले प्रतियोगतामा सहभागी हुन जाने टोलीहरुलाई विदाई समेत गरेका थिए ।
यसअघि मेयर निर्वाचित भएपछि बालेनको नेतृत्वमा महानगरपालिकाले आफ्नो कार्यक्रममा ई–स्पोर्टस्सँग सम्बन्धित गतिविधि र प्रतियोगिताको सहयोगका लागि बजेट विनियोजन गरेपछि उनको ई स्पोर्टस्प्रतिको लगाव चर्चाको विषय बनेको थियो ।
यस विषयमा जिज्ञासा राख्दा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मेयरको भ्रमण अनौपचारिक भएकाले विस्तृतमा थाहा नभएको बताए । साथै, उनले ई स्पोर्टस् प्रवर्द्धनको लागि बजेट विनियोजन भएको भए पनि अहिलेसम्म खर्च भइनसकेको जानकारी दिए ।
जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजना हुने तीन दिने यो ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सो टिममा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
बालेन पत्नी सविना काफ्लेले फेसबुकमा रमाइर्हेको तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा बालेन पत्नी सविना काफ्लेसँग समुन्द्री तटमा रमाइरहेको देखिन्छ ।