नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि नेकपा माओवादी केन्द्रसँग मिल्न फर्किएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम फेरि लामो समयपछि एउटै पार्टीमा सहकार्य गर्न लागेका हुन् ।
नेसपाले ४ मंसिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो । त्यसबेलामा भएको सहमतिअनुसार नै पार्टी एकता प्रक्रिया अघि बढाउन लागिएको नेताहरुले बताएका छन् ।
शनिबार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरु सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छ ।
यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ । पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।
भट्टराईले २०७२ सालको ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष छन् ।