प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसबाट पनि विश्वासको मत पाउने सम्भावना बढेको छ । २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।
१० पुसमा कांग्रेससँगको गठबन्धन भत्काउँदै एमालेसँग सहकार्य गरेर प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसपछि कांग्रेसभित्र दुई धार देखिएको छ । एउटा धार प्रचण्ड एमालेसँग गएर ठीकै भयो भन्ने छ ।
जसको नेतृत्व महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरिरहेका छन् । उनीहरू कांग्रेस अब बलियो प्रतिपक्षीमा देखिनुपर्ने तर्क गरिरहेका छन् ।
अर्को धारको सभापति शेरबहादुर देउवाले नेतृत्व गर्छन् र यो धार प्रचण्डले धोका दिएकाले सत्तामा फर्किंने रणनीतिमै लाग्नुपर्छ, जसका लागि गैरवाम नेतृत्वको सरकार बनाउने प्रयास पनि गर्न सकिन्छ भन्नेमा छ । सभापति देउवाले यो बीचमा सरकार परिवर्तनका लागि चलखेल भने गरेका थिए । त्यसमा अन्तर्राष्ट्रिय शक्ति केन्द्र पनि सक्रिय भएका थिए ।
कांग्रेसको यो रणनीतिमाथि २२ पुसमा शिलापत्रले विभिन्न कोणबाट समाचार प्रकाशन गरेको थियो । राप्रपा स्रोतका अनुसार कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एक–एक वर्ष र आफू दुई वर्ष प्रधानमन्त्री हुने गरी देउवाले उनीहरूसँग प्रस्ताव गरेका थिए ।
यद्यपि, कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाहिर राख्दा मात्रै बहुमत पुर्याउने गरी खेल खेलेको थियो त्यसअनुसार पनि उसले १४१ सिट पुर्याउने सम्भावना थियो ।
यसका लागि देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूसँग संवाद मात्र गरेरन्, गैरवामको सरकार बनाउने अन्तिम प्रयास गरेकै कारण माधव नेपालले प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्नेमा द्वैधचरित्र देखाइरहेका थिए ।
त्यसो गर्दा, आउँदो राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्षलगायतका पदमा हिस्सेदारी खुस्काउन सकिन्छ कि भन्ने मनोविज्ञानले पनि काम गरेको देखिन्छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने चाहिँ २६ पुस बिहानको संसदीय दलको बैठकले निर्णय लिनेछ ।