प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साढे दुई वर्षपछि राजीनामा दिने र त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति ७ दलमा भएको बताइन्छ । तर, यहाँ संवैधानिक व्यवस्था अर्कै रहेको चर्चा बढेपछि ओली झस्किएका छन् ।
संविधानको धारा ७६ (२) अनुसार बनेको प्रचण्ड नेतृत्वको सरकार ढलेपछि धारा ७६ (३) अनुसार देउवा प्रधानमन्त्री बन्ने बाटो खुला हुने ओली आफैले दाबी गरेका छन्।
खासमा ओलीले आफ्नो पार्टी र राप्रपाका सांसदहरुले अन्यथा निर्णय नगरुन्, यही सरकारको पक्षमा मतदान गरुन् भनेर संविधानको धारा उद्धृत गर्दै उपरोक्त कुरा बताएका हुन्।
तर, उनको कथनले १० पुसमा भएको सहमति अनुसार साढे दुई वर्षपछि प्रचण्डले राजीनामा दिएपछि उनी आफैँ कसरी प्रधानमन्त्री बन्लान् भन्ने प्रश्न उब्जाएको छ।
संविधानको धारा ७६ (२) अनुसारको सरकार ढलेपछि धारा ७६ (३) अनुसार सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ वा फेरि धारा ७६ (२) अनुसार नै सरकार निर्माण हुन्छ, यसबारे संविधानले स्पष्ट उल्लेख गरेको छैन।
त्यसैले, धारा ७६ (२) मा फर्कने वा ७६ (३) को प्रक्रिया सुरु गर्ने भन्ने विषय राष्ट्रपतिको तजबिजमा भर पर्छ। दोस्रो पटक ओली प्रधानमन्त्री छँदा जब नेकपा विभाजित भयो र ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न सकेनन्, त्यो बेला राष्ट्रपति विद्या भण्डारीले धारा ७६ (२) मा नफर्की ७६ (३) अनुसार ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।
अर्थात्, जब प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनेछन्, फेरि धारा ७६ (२) अनुसार सरकार निर्माणको प्रक्रिया सुरु हुनेछैन। शनिबारको कार्यक्रममा ओलीको कथनले यही कुरा बताउँछ।
तर, ओलीले १० सिट रहेको एकीकृत समाजवादीलाई पनि मनाउन सके एमाले ठूलो दल बनेर ओली प्रधानमन्त्री हुने अवस्था आउँछ ।