प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गत पुस १० गते प्रधानमन्त्रीमा अढाई बर्ष र ्राष्ट्रपति एमालेले लिने भनिए पनि नयाँ ट्वीस्ट आएको छ । प्रचण्ड र ओलीको बीचमा नेपाली कांग्रेसको इन्ट्रीले राजनीति रोचक मोडमा पुगेको हो ।
कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रिय राजनीतिलाई नयाँ तवरले अघि बढाउन खोजेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कोर टिमसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रिय राजनीतिमा आफ्नो दलको भूमिका स्थापित गराउनेबारे छलफल गरेका छन् ।
उनीसँगको छलफलमा सहभागी अधिकांश नेताहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सुझाव दिएका छन् । आजमात्रै देउवाले पूर्व महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत र नेता दीपक खड्कासँग आन्तरिक छलफल गरेको बुझिएको छ ।
सो छलफलमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर राष्ट्रपतिमा सबैको साझा व्यक्तिलाई अघि सार्नुपर्ने कुरा उठेको छ ।
कांग्रेसले एमालेलाई राष्ट्रपति दिन नहुने निश्कर्ष निकालेको छ। विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि सहकार्य गरेकोले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्ने कांग्रेसको तयारी छ ।
कतिपय नेताले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सभामुख लिनुपर्नेमा पनि सभापति देउवालाई सुझाएका छन् । तर, देउवा भने अहिले निर्णय लिने पक्षमा छैनन् ।
उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने वा नदिने भन्नेबारे पुष २६ गते बस्ने संसदीय दलको बैठकबाट निर्णय लिन चाहन्छन् । तर, उनले पनि राष्ट्रपतिमा साझा व्यक्ति ठाकुरलाई अघि सार्ने सोच बनाएका छन् ।

