संसद्को सबैभन्दा ठूलो दल भएर पनि बदलिएको समीकरणका कारण प्रमुख प्रतिपक्ष भूमिकामा पुगेको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आलोचनात्मक समर्थनसहित विश्वासको मत दिन सक्ने संकेत दिएको छ । तर, मंगलबार बिहान बस्ने संसदीय दलको बैठकमार्फत कांग्रेसले सरकारलाई विश्वासको मत दिने–नदिने अन्तिम निर्णय लिनेछ ।
विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराहीस्थित देउवानिवास पुगेका थिए । स्रोतका अनुसार भेटमा सभापति देउवाले आवश्यक निर्णय संसदीय दलको बैठकबाट लिने आश्वासन प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् ।
भेटमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला थिए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको र सभापति देउवाले पार्टीमा छलफल गरेर मंगलबार निर्णय लिने जवाफ दिएको खड्काले बताए । त्यसअघि खड्का र सिटौलाले दिउँसो प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए ।
रणनीतिक रूपमा पर्ख र हेरको मनस्थितिमा रहेको कांग्रेसमा सरकारलाई आलोचनात्मक समर्थन गरेर जानुपर्ने मत बलियो बनेको छ । स्रोतका अनुसार सभापति देउवासहितका शीर्ष नेता सरकारमा सहभागी नहुने, तर ‘आलोचनात्मक समर्थन’ गरेर जाने पक्षमा छन् । यसो गर्दा कांग्रेसको प्रतिपक्षकै भूमिका रहन्छ–रहँदैन भन्नेमा नेताहरू मन्थनमा छन् ।
सरकारलाई विश्वासको मत दिने बलियो सम्भावना रहेको र संसदीय दल बैठकमा पार्टी सभापति तथा संसदीय दलका नेता देउवाले आलोचनात्मक समर्थनको प्रस्ताव राख्ने सम्भावना रहेको सभापतिनिकट एक नेताले बताए । ‘सरकारलाई आलोचनात्मक समर्थन गरेर जाने भन्ने मत पार्टीभित्र छ ।
भोलि हामीले अहिले उपलब्ध शक्तिहरूसँग नै सहकार्य गरेर जानुपर्छ, यो अवस्थामा हामीसँग धेरै विकल्प पनि छैनन्,’ ती नेताले भने, ‘अहिलेको अवस्थामा तीव्र ध्रुवीकरण गरेर जानुभन्दा एक कदम पछाडि फर्केर जानुपर्छ भन्ने मत छ ।
संसदीय दलको बैठकमा सहमतिमा नै यो टुंगो लाग्छ । तर, अत्यधिक सम्भावना समर्थन गरेरै जानेमा छ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।