सत्तारुढ ७ दलीय गठबन्धनको सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ । सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन तयार नभएपछि प्रधानमन्त्री प्रचण्ड गत पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएका थिए ।
तर, विश्वासको मत दिने बेला भने कांग्रेसको पनि इन्ट्री भयो । जसले राजनीीतक थप रोचक मोडमा गएको छ । एकाएक देउवा प्रचण्डसँग नजिक कसरी भए त ? कारणको खोजी कांग्रेसमै र एमाले अध्यक्ष ओलीले गर्न थालेका छन् ।
ओलीले संसद्मा अस्ति सम्बोधन गर्दा आफूले गरेको संसद वि’घटन सही भएको बताएका थिए । यो पनि देउवा र प्रचण्ड नजिक हुनुको एक कारण भएको बताइन्छ । सोमबार नै एमाले अध्यक्ष ओलीले अर्को व्यवहार देखाए। जसको खासै चर्चा भएन, तर सांकेतिक थियो।
सोमबार साँझ सतारुढ दलहरुले नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरे। त्यस कार्यक्रममा एमाले अध्यक्ष ओली मुख्य र बीचको कुर्सीमा बसेका थिए, प्रधानमन्त्री प्रचण्ड भने छेउमा। यसले कुनै न कुनै रुपमा प्रचण्डमाथि ओलीको ‘प्रभुत्व’ पुष्टि गर्थ्यो।
हुन त ओली सत्तारुढ दलहरुको समन्वय समितिका संयोजक हुन्। त्यसैले उनलाई बीचमा राखिनु सान्दर्भिक हो भन्ने तर्क गर्न सकिएला। तर, तत्कालीन नेकपामा ओली र प्रचण्डमा विग्रह उत्पन्न हुनुमा अन्य कैयौँ कारण जस्तै कुर्सीको ‘पोजिसन’को पनि भूमिका थियो।
आफूमाथि ओलीको दबदबालाई सुरुमै ‘साइज’मा ल्याउने एउटा प्रयत्नस्वरुप प्रचण्डले देउवासँग निकटता बढाएका हुन सक्छन्। देउवाको कदमले ओली झस्किएका छन् ।