सत्ता गठबन्धनले नियुक्त गर्न बाँकी रहेका मन्त्रालयमा १७ जना मन्त्री नियुक्त गर्ने अन्तिम तयारी गरेको छ । बिहीबार दिउँसो बस्ने सत्ता साझेदार दलको बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति जुटाएर शुक्रबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको छ ।
सोही अनुसार बुधवार बेलुका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा झण्डै २ घण्टा छलफल भएको छ । सोही छलफलका आधारमा बिहीबार सत्ता साझेदार दलको बैठक बोलाउन दुई नेता सहमत भएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बुधवार साँझ भएको छलफलमा एमालेले १० मन्त्रालय, माओवादीले प्रधानमन्त्रीसहित ६, रास्वपाले उपप्रधानसहित ४, राप्रपा २, जसपा १, जनमत १ र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्रालय हुने गरी भागवण्डा गर्न सकिनेमा दुई नेता सहमत भएको बताइएको छ । यो सङ्ख्यामा सहमतिका आधारमा केही फेरबदल समेत गर्न सकिनेमा दुई नेता सहमत भएका छन् ।
पहिलो चरणमा एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीका रूपमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रलायको जिम्मेवारीसहित शपथ लिइसकेका छन् ।
अन्य मन्त्रीहरूमा जनमत पार्टीबाट अब्दुल खान र एमालेबाट तीन मन्त्री ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राईले शपथ लिए पनि उनीहरूको मन्त्रालय तोकिएको छैन ।
नेकपा एमालेले मन्त्रीबारे निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई नै दिएको छ । एमाले उपमहासचिव समेत रहेका विष्णु रिमालले त्यो अधिकार अध्यक्षलाई नै भएको बताए ।
स्रोतका अनुसार अध्यक्ष ओलीले मन्त्रीमा थपिने सूचीमा पर्वतका पदम गिरी, कास्कीका विद्या भट्टराई, सुनसरीका भगवती चौधरी, झापाका देवराज घिमिरे, मकवानपुरका महेश बर्तौँला, ललितपुरका प्रेमलाल महर्जनलगायतको नाम लिष्ट तयार गरेर खल्तीमा राखेका छन् ।