राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता विवादका सम्बन्धमा स्पष्टीकरण दिएका छन् । उनले एकैपटक दुई देशको नागरिकता कायम हुने दाबी गर्दै हाल आफूले अमेरिकी नागरिकता त्यागिसकेको र स्वतः नेपाली भएको दाबी गरेका हुन् ।
नागरिकता सम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय अभ्यासले कुनै पनि व्यक्ति एकैपटक एकभन्दा बढी देशको नागरिक हुन नसक्ने व्यवस्था गरे पनि गृहमन्त्री लामिछानेले भने आफू एकै समय नेपाल र अमेरिकाको नागरिक भएको तथा उक्त कुरा वैधानिक भएको जिकिर गरेका हुन्।
निष्क्रिय अवस्थामा रहेको नागरिकताका आधारमा लामिछानेले चितवन २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनु अवैध रहेको दाबी गर्दै परेको रिट निवेदनको जवाफमा उनले एकैपटक दुई देशको नागरिकता कायम हुनु वैधानिक भएको दाबी गरेका हुन्।
२०५० साल फागुन १० गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता अमेरिकी नागरिकता त्यागेपछि सक्रिय बनाउन पूूरा गर्नुपर्ने कार्यविधि पूरा नगरेकाले उनीसँग वैधानिक नागरिकताको प्रमाणपत्र नरहेको दाबी गर्दै अधिवक्ता रविराज बसौला र नानीबाबु खत्रीले सर्वोच्चमा रिट दायर गरेका थिए।
निवेदनमा गृहमन्त्री लामिछानेसँग वैध नागरिकता नभएकाले उम्मेदवार हुन आवश्यक न्यूनतम योग्यता नै नपुगेको निवेदकको दाबी छ। त्यस्तो निष्क्रिय नागरिकताका आधारमा दिएको उम्मेदवारी नै खारेज भई चितवन २ मा पुन मतदात हुुनुपर्ने माग निवेदकले गरेका छन्।
उक्त रिटमाथि संवैधानिक इजलासले जारी गरेको कारण देखाऊ आदेशमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफूले अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता नत्यागेको हुँदा अमेरिकाको नागरिकता छाडेपछि नेपालको नागरिकता कायम गर्न कुनै पनि कानुनी प्रक्रिया पूरा गर्नुनपर्ने दाबी गरेका हुन्।

