कोरियन एयरलाइन्स र नेपाल सरकारबीच भएको समझदारी अनुरुप रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । यसअघि ईपीएस मार्फत कोरिया जाने कामदारहरूले १२०० डलरभन्दा बढी पैसा तिर्दै आएका थिए ।
अब प्रति कामदारले ८९५ अमेरिकी डलर (एक डलर बराबर १३०.८५ रुपैयाँ हुँदा १ लाख १७ हजार १०८.३३ रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।
ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले उक्त सम्झौता एक वर्षसम्मको लागि लागू हुने बताए । सम्झौता अनुसार ईपीएस मार्फत कोरिया गएका श्रमिकको मृ.त्यु भएमा श.व नेपाल ल्याउँदा लाग्ने हवाई भाडामा २० प्रतिशत छुट समेत दिइने छ ।
यसअघि नेपाली श्रमिकहरू निकै महँगो हवाई भाडा तिर्दै कोरिया जान बाध्य थिए । हवाई भाडा निकै महँगो भएको भनेर व्यापक जन गुनासो आएपछि सरकारले हवाई भाडा घटाउने विषय पहल थालेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र ईपीएस कोरिया शाखाले हवाई भाडा घटाउन पहल गरेको थियो ।

