आज उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको शपथ लिएका राजेन्द्र लिङ्देन बाटोबाटै पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका छन् । शुभकार्यको शुभारम्भ गर्दा देवीदेवताहरु सम्झने परम्पराअनुसार नै आफू पशुपतिनाथ दर्शन गर्न गएको उनले बताए ।
मंगलबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेका लिङ्देनसहितका मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुगेका थिए ।
पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लिङ्देनले सनातन धर्ममा विश्वास गर्ने मानिसहरुले कुनै पनि शुभकार्य प्रारम्भ गर्दा अथवा शुभकाम गरिसकेपछि त्यसको स्थायित्वको कामना गर्न आफ्ना आस्थाका देवीदेवताहरु सम्झने परम्पराअनुसार नै आफूहरु पशुपतिनाथ मन्दिर गएको बताए ।
उनले भने, ‘शुभकार्य सुरु गर्नुअघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरुको चलन रहेको छ । सोही परम्परा अनुसार हामी पनि पदभार ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएका हौं ।’
मन्त्री लिङदेनले पशुपतिबाट आएपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका थिए ।

