राष्ट्रिय स्वतन्त्र पार्टीका एक मन्त्रीका कारण सभापति रवि लामिछाने आलोचित हुन पुगेका छन् । श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्यालको नाम विवादमा आएको हो ।
अर्याल वैदेशिक रोजगार व्यवसायी रहेको सार्वजनिक भएसँगै उनी आबद्ध देखिएका सृष्टि ओभरसिजको वेबसाइटसमेत बन्द भएको छ। सो प्रालीमा अर्याल इन्टरनेशनल मार्केटिङ डाइरेक्टर पदमा रहेको उल्लेख थियो।
वैदेशिक रोजगारी ठगीबाट अकुत सम्पत्ति कमाएका ४१ कम्पनीका सञ्चालकहरूको सम्पत्ति छानबिन गर्ने सूचीमा सृष्टि ओभरसिज पनि थियो।
स्वार्थ बाझिने गरी म्यानपावर व्यवसायीलाई नै श्रममन्त्री बनाएको भन्दै तीव्र आलोचना भएपछि उनले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक सन्देश राख्दै आफ्नो धेरै ठाउँमा लगानी भएको तर म्यानपावर व्यवसायमा भने लगानी नभएको दाबी गरेका थिए।
मङ्गलवारसम्म खुलिरहेको साइटमा उनको तस्बिर कभरपेजमै म्यानपावरका अध्यक्ष लक्ष्मण कोइराला र म्यानेजिङ डाइरेक्टर लेखनाथ भण्डारी लगायतकासँग उभिएका छन्।
जापानमा रोजगारीका लागि नेपालीलाई पठाउन सक्रिय म्यानपावर कम्पनी हो सृष्टि। अर्याल पनि लामो समय जापान बसेर फर्किएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ सांसद बनेका उनलाई पार्टी सभापति रवि लामिछानेको एकल निर्णयमा श्रममन्त्री बनाइएको थियो।
अर्याल लामिछाने र उनको मुख्य सहयोगी दीपक बोहोरा न्युज २४ टेलिभिजनमा हुँदादेखि नै निकट सम्बन्ध रहेको देखिन्छ। सन् २०१८ मा लामिछाने र बोहोरा जापान भ्रमणमा जाँदा अर्यालले उनीहरूलाई सघाएका थिए।
नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका अर्यालले दीपकलाई कार नै उपहार दिएका थिए। रवि जता गए उतै जाने दीपक अहिले रविकै मुख्य स्वकीय सचिवको रूपमा कार्यरत छन्।
पार्टी गठन भएपछि आर्थिक सहयोग गर्नेमा अर्याल पनि महत्त्वपूर्ण सूचीमा पर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले बताए। अर्यालको छनौट योग्यता र योजनाका आधारमा भन्दा पनि रविसँगको निकटताको आधारमा भएको सोही पार्टीका एक नेताले बताए।

