रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वैशाख २० गतेभित्रै चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सक्न विद्यालयलाई आग्रह गरेको छ । कोरोना महामारीको दोस्रो लहर बढिरहेका बेला विद्यार्थीमा कोरोनाको प्रभाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरक्षेत्रका सबै विद्यालयको वार्षिक परीक्षा छिट्टै गर्ने नगरपालिकाले निर्णय गरेको हो ।
शुक्रबार बसेको नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको बैठकले नेपालमा दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा फैलिईरहेको र विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएकोले विद्यालयस्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो ।
शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले परीक्षा नलिँदै विद्यालय बन्द गरिँदा त्यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक प्रभाव पर्ने भएकोले कोरोना सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए । नगर प्रमुख तथा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यही वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ ।
कमलपोखरी पुनःनिर्माणको काम ८५ प्रतिशत सकियो, पानी भर्न शुरु पुनः निर्माण भइरहेको कमलपोखरी ८५ प्रतिशत काम सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको कामसँगै पोखरीमा पानी भर्ने काम भइरहेको छ । आगामी दुई हप्ताभित्र काम सबै सक्ने गरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ ।
सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए । उनका अनुसार अबको केही दिनभित्र पोखरीमा पानी राख्ने काम पनि सकिन्छ । पुनःनिर्माणपछिको शुरुआती चरणमा एक करोड ५० लाख लिटर पानी भर्ने तयारी कामपाको रहेको छ ।
केही दिनअघि नै पोखरीमा पानी भर्न शुरु गरे पनि भर्ने काम सकिएको छैन । अहिलेसम्ममा २० लाख लिटर पानी मात्र पोखरीमा राखिएको छ । कामपाले सम्पदा पुनःनिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा कामपाको ध्यान केन्द्रित भएकाले अनावश्यक भ्रम सिर्जना नगर्न सबैमा आग्रह गरेको छ । यस पोखरी निर्माणको कम एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते पुनःनिर्माणका लागि शिलान्यास भएको थियो ।