राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखमा सोविता गौतमको नाम चर्चामा रहेपनि ट्वीस्ट आएको छ । सोविता आफैले उपसभामुखमा रुची राखेकी थिइन् । तर, अन्तिम समयमा रास्वपाले उपसभामुख पदमा इन्दिरा राना मगरलाई पठाउने निर्णय गरेको छ ।
रास्वपाको संसदीय दल बैठकले लामो छलफलपछि इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय लिएको हो । सम्भावित उपसभामुख ठानिएकी सोविता भने इन्दिराको प्रस्तावक बनिन् । स्रोतका अनुसार उपसभामुखमा जाँदा पार्टीमा सक्रिय भूमिका निभाउन नमिल्ने तथा जातीय समावेशीता पनि मिलाउनुपर्ने भएकाले सोवितालाई ब्याक गराइएको हो ।
स्रोतले भन्यो, ‘उपसभामुखमा जाँदा पार्टीसँग सम्वन्धवि’च्छेद गर्नुपर्ने हुन्छ । तर, सोविताजस्तो युवा र प्रखर नेतृ हाम्रो पार्टीमा नै चाहिन्छ भन्ने कुरा भयो । उहाँ स्वयम् पनि यसमा कन्भिन्स्ड हुनुभएको छ ।’
त्यसो त सोविता सुरूमा रास्वपाबाट मन्त्री बन्ने सम्भावित सूचीमा समेत थिइन् । यदि कानूनमन्त्री रास्वपाले पाएको भए उनको सम्भावना बलियो भन्ने थियो । तर, उक्त मन्त्रालय रास्पपाको भागमा नपरेपछि सोविताको मन्त्री बन्ने ढोका बन्द भयो । त्यसपछि उनी उपसभामुखमा जान इच्छुक थिइन् । तर, अन्ततः यो इच्छा पनि मा’रेकी छन् ।
एमालेबाट हिजो देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेपछि रास्वपाले आज महिला सांसदलाई उपसभामुख उम्मेदवार बनाउनुपर्ने थियो । संसदीय दल बैठकको सुरूमा सोविताकै नाममा चर्चा भएको स्रोतको भनाइ छ । सोविता स्वयम्ले विभिन्न आधारहरू प्रस्तुत गर्दै उपसभामुखमा आफ्नो दाबी राखेकी थिइन् ।
‘म एउटा कानूनको विद्यार्थी भएका नाताले पनि आफ्नो क्षमता र ज्ञानको सदुपयोग गर्ने भूमिकाको आशा राखेकी छु,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । तर, सांसदहरूले उनलाई उपसभामुख बनाएर पठाउँदा पार्टीलाई घाटा हुने तर्क गरेका थिए ।

