लामो समयपछि एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वार्ता भएको छ । शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनिर्वाचित सभामुख देवराज घिमिरेको शपथ ग्रहणमा दुवैको भेट भएको हो ।
‘सँगै परेपछि ओलीजीले ओहो, हामी फेरि सँगै परिएछ भनेर ठट्टा गर्नुभयो। एकछिन हाँसीमजाक भयो,’ सँगै बसेका बाबुराम भट्टराईले भने। ‘सँगै पर्नु त राम्रो हो। यसरी धेरै सँगै परियो भने माया पलाउँदैछ जान्छ भनेर मैले पनि ठट्टा गरें,’ भट्टराईले भने।
एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पार्टी विभाजनपछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ११ मा शपथ लिँदा कुराकानी भएको थियो। त्यसबेला दुई नेताबीच सामान्य कुराकानी भएको थियो।
पछिल्लो संसद बैठक(प्रचण्डले प्रधानमन्त्रीको विश्वासको मत लिँदा) ओलीले संसद विघटन सही भनेपछि माधव नेपाल आ’क्रोशित भएका थिए । उनीहरु फेरि मिल्ने हल्ला रहेपनि वार्ता अघि बढ्न सकेको छैन ।