नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पुस १० मा सभामुख र राष्ट्रपति एमालेले र प्रधानमन्त्री अढाई बर्ष प्रचण्डले पाउने सहमति भएको थियो । तर, राजनीतिमा एकाएक नयाँ ट्वीस्ट आएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएर शंकाको घेरा हालिदियो । अब राष्ट्रपति राष्टिय सहमति हुने प्रचण्डको भनाई छ । कांग्रेस पनि यहीँ भन्छ । प्रचण्ड अढाई वर्षमात्रै प्रधानमन्त्री हुने समझदारी छ । त्यसपछि ओली प्रधानमन्त्री बन्नेछन् । अहिले दाहाल सकेसम्म एमालेलाई राष्ट्रपति नदिने पक्षमा पुगेको स्रोतको दाबी छ ।
उनी सकेसम्म एमाले बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने पक्षमा पुगेका छन् । तर, अहिलेसम्म यो विषय उनले ओलीसँग साझा गर्न सकेका छैनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरुले प्रधानमन्त्री दाहाललाई राष्टपति कुनैपनि हालतमा एमालेलाई नदिन सुझाएका छन् ।
पुष १० गते यता नेपालको राजनीतिमा प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादीका नेतृत्वहरुबीच एकले अर्कोसँग बदला लिने होडबाजी चलिरहेको छ ।
तर, राष्ट्रपति पाएपछि कांग्रेसले प्रचण्डसँग पनि बदला लिने भन्दै दोस्रो तहका नेताहरुले यसबारेमा प्रचण्डलाई ब्रिफिङ गरिरहेका छन् । यसबारेमा प्रचण्ड पनि जानकार छन् । राष्ट्रपतिमा एमाले उम्मेदवार पराजित भए ओलीले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिनेछन् ।
मुख्य घटक एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसद्मा पूनः विश्वासको मत लिनुपर्छ । अहिले उनलाई कांग्रेसको पनि विश्वासको मत छ ।
कांग्रेसले विश्वासको मत दिए उनी प्रधानमन्त्रीको कुर्सीमा कायमै रहनेछन् । दिएन भने पहिलो दलको नेताले देउवा नै प्रधानमन्त्री बन्नेछन् । देउवाले यस्तो कदम पनि चाल्न सक्ने बारे प्रचण्ड जानकार छन् ।
अहिले प्रचण्ड सर्वाधिक कठिन मोडमा छन् । देउवाले प्रचण्डलाई विश्वासको मत नदिएर ठूलो दलको नेताको हिसाबले आँफै प्रधानमन्त्री खानेबारे ओली पनि संशकित छन् ।
तर, देउवालाई अर्को झट्का दिनेगरि उनले एमालेलाई पहिलो दल बनाउने गृहकार्य थालेको स्रोतको दाबी छ । अहिले ओलीसँग नजिक रहेका रास्वपाका सभापति रवि लामिछानेसँग पार्टी एकताको गृहकार्य पनि थालेको चर्चा छ ।
रवि पनि यही सत्ता गठबन्धनमा छन् । अहिलेको गठबन्धन टुटेर कांग्रेस, माओवादी केन्द्रको नयाँ गठबन्धन बन्नेछ । त्यसमा रास्वपा हुने छैन् ।
उनी एमालेसँग सहकार्य गरेर जानेमा सकारात्मक छन् । संसद्मा एमालेको अहिले ७९ सांसद छन् । रवि नेतृत्वको रास्वपासँग एकता भए २० सांसद थपिएर ९९ सांसद पुग्नेछ । संविधानको धारा ७६ को ३ अनुसार सरकार बनाउनुपर्ने अवस्था आयो भने एमालेले पहिलो दलको हिसाबले सरकारको नेतृत्व गर्ने जानकारीहरुले बताएका छन् ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समेत कांग्रेसले उठाएको व्यक्ति नै राष्ट्रपति बन्ने बताएपछि राजनीतिमा हलचल भएको छ । योसँगै ओलीको तयारीलाई थप बल मिल्ने संकेत देखिएको छ ।