कांग्रेसको डा. शेखर कोइराला पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टीले लगाएको निर्णय गलत भएको ठहर गरेको छ। संस्थापन इतर डा. कोइराला समूहको आइतबार बसेको बैठकले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेको छ।
बैठकमा डा. कोइरालाले बहुमतको आधारमा पार्टीको संस्थापन पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्न लगाएको बताएका थिए। ‘मैले कार्यसम्पादन समितिको बैठकमा पनि विश्वासको मत दिनुहुँदैन भनेको थिएँ,’ कोइरालाले भने, ‘हामी मुख्य प्रतिपक्षको भूमिकामा बसौं। विश्वासको मत दिइसकेपछि हामी प्रतिपक्ष ठहरिन्नौं भनेकै थियौं।
तर, त्यतिबेला बहुमतको निर्णय भयो। पार्टीमा हामी अल्पमतमा छौं त्यस्तो अवस्थामा पार्टीको ह्विप मान्नुको विकल्प थिएन।’ त्यस्तै, कोइराला समूहकी सांसद मुक्ताकुमारी यादवले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत तत्काल फिर्ता लिनुपर्ने बताएकी थिइन्।
‘त्यत्रो गठबन्धन र सहकार्य छोडेर जाने प्रचण्ड जस्तो बेइमानी व्यक्तिलाई कांग्रेस जस्तो पार्टीले विश्वासको मत दिन सुहाउँथ्यो ः’
उनको आ’क्रोश थियो, ‘हामी सत्तापक्ष हौं कि के हौं ? कि विश्वासको मतलाई पदसँग बार्गेनिङ गरिएको थियो ? नेतृत्वले स्पष्ट पार्नुपर्यो। होइन भने विश्वासको मत तत्काल फिर्ता लिनुपर्छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

