राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट हुन सक्ने अनुमान छ । जसका कारण सडकमा समेत खाल्डाखुल्डी बढेर जाने देखिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदल प्रतिवेदनमा ३ सयभन्दा बढी स्थानमा चुवाहट हुने अनुमान गरेको छ । सडक विभाग महानिर्देशकको संयोजकत्वमा लिमिटेड प्रमुख कार्यकारी अधिकृत, सडक डिभिजन प्रमुख, केयूकेएल शाखा कार्यालय प्रमुख सम्मिलित समितिले अध्ययन गरेको हो ।
सडक डिभिजन कार्यालय काठमाडौं प्रमुख कुवेर नेपालीले चुहावट भएका स्थानमा तत्काल सडक निर्माणका लागि सरकारसँग बजेट माग गरेर पुर्ने योजना रहेको बताए । पुरानो प्रणालीबाट मेलम्ची पानी वितरण गरेसम्म उपत्यकाका सडकमा पानी चुहावट भइरहने र खाल्डाखुल्डी बढ्ने भन्दै सडक विभागको ध्यानाकर्षण भएको छ ।
विभागका अनुसार मेलम्ची पानी वितरण गर्न बिछ्याइएको ३० किमी पाइप प्रणाली सडक बनाउँदा बिग्रिएको छ । चक्रपथ क्षेत्रका अधिकांश स्थानमा सडक बनाउँदा पानी वितरण प्रणाली बिग्रिएकाले मर्मत गर्न लागिएको हो ।
यद्यपि, मेलम्ची खानेपानी आयोजना पाइपलाइन भएको ठाउँमा ट्यांकरसमेत भासिएका छन् । कमजोर बनावटका कारण ललितपुर सातदोबाटोभित्र दुई ट्यांकर भासिएको छ । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको नयाँ र पुरानो पाइपलाइन केयूकेएलको हो । भासिएको खुलेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण गत २० चैतमा उद्घाटन गरेकी थिइन् । १५ चैतबाट मेलम्ची पानी वितरण सुरु गरिएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पुरानै सिस्टमबाट पानी वितरण हुँदै आएको छ । मेलम्ची पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट वितरण गरिएको हो ।
गत २२ फागुनमा मेलम्चीबाट सुरुङमा खसालिएको पानी परीक्षण गरिएको थियो । यसका लागि १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खाने पानी २२ फागुनमा काठमाडौं सुन्दरीजल आइपुगेको थियो ।
सो पानी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा मेलम्चीको पानीले काठमाडौंको सडक पखालिदिने बाचा गरेपछि परिकल्पना अघि बढेको थियो । मेलम्ची आयोजनाको २०५८/५९ मै सुरु भएको थियो । आयोजना २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।