नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यस्तै आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ र चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ । यस अघि सुनको उच्चतम् मूल्य तीन दिन अघि १० माघमा कायम भएको थियो ।
सो दिन यस अघि २०७८ फागुन २५ गते कायम भएको सुनको उच्चतम् मूल्य एक लाख पाँच हजार ५०० रुपैयाँको बिन्दू पार गर्दै एक लाख ६ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
उच्चतम् रेकर्ड बिन्दुबाट बुधबार तोलामा एक सय रुपैयाँले सस्तो भएको सुनको मूल्य बिहीबार पुनः उकालो लागेको हो । बिक्री मूल्य उच्च भएपछि सुनको कारोबार गत साता देखि नै प्रभावित भएको महासंघले जनाएको छ ।
यता, सिंगापुरका केही विश्लेषकहरूले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस चार हजार डलरसम्म पुग्ने अनुमान गरेका छन् । अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ३० डलरमा कारोबार भइरहेको छ। नेपालमा प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
सिंगापुरमा मुख्यालय रहेको स्विस एसिया क्यापिटलका प्रबन्ध निर्देशक तथा चिफ इन्भेस्टमेन्ट अफिसर यर्ग काइनरले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस दुई हजार पाँच सयदेखि चार हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनबिसीले उल्लेख गरेको छ।
सुनको तौल प्रतिऔंस बराबर ३१.१ ग्राम हुन्छ। सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔंस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ। त्यस्तै प्रतितोला सुन ११।६६४ ग्राम बराबर हुन्छ।
अहिले डलरको बिनिमयदर एक सय ३० रूपैयाँ छ। काइनरको प्रक्षेपण अनुसार प्रतिऔंस सुनको मूल्य साँच्चिकै चार हजार डलरसम्म पुगेमा नेपालमा प्रतिऔंस सुनको करिब पाँच लाख २० हजार रूपैयाँ पर्न आउँछ।
यस आधारमा प्रतिग्राम सुनको नेपालमा १६ हजार सात सय २० रूपैयाँ पर्नेछ भने एक तोला सुन (११.६६४ ग्राम) को एक लाख ९५ हजार रूपैयाँ पर्नेछ।