पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पछिल्लो समय बलियो बन्न लागेको छ । केही दिनअघि नेकपा एमालेका नेता घनश्याम भुसाललाई पार्टीमा प्रबेश गराएका अध्यक्ष नेपाल अहिले वामदेव गौतमलाई आफ्नो पार्टीमा ल्याउने तयारीमा छन् ।
मंगलबार अध्यक्ष नेपालले नेता गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका थिए । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमै भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका थिए । अध्यक्ष नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै चाँडै निर्णय गर्न गौतमले जवाफ दिएका थिए ।
भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि एकीकृत समाजवादीका दस्तावेज प्रदान गरेका छन् । दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समाववादीमा आउने या नआउने विषयमा गौतमले निर्णय लिने बताएका थिए । एमाले परित्याग गरेर स्वतन्त्रबाट चुनाव जितेका भुसालले पार्टी प्रबेश गरेलगत्तै सचिवालय सदस्यमा मनोनीत गरिएको थियो ।
अहिले भुसाललाई पार्टी महासचिव बनाउने तयारी थालिएको पनि बताइएको छ । भुसाललाई महासचिव बनाउनेगरी छलफल अघि बढेको एक नेताले बताएका छन् । अब माघ २१ र २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने उनले बताए ।

