प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन्। बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा उनले संसद्मा दुई दलबाहेक सबैले विश्वासको मत दिएकाले राष्ट्रिय सहमति गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएको ब्रिफिङ गरेका थिए।
माओवादीले एमालेलाई राष्ट्रपति र सभामुख दिने यसअघि सहमति गरेको थियो। तर, कांग्रेससहितको अन्य दलले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि फागुनमा हुने राष्ट्रपति पदका लागि माओवादीले राष्ट्रिय सहमति खोज्ने बताएको हो। यो विषयले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच मनमुटाव सुरु भएको छ।
‘संसद् सहभागी लगभग सबै दलले विश्वासको मत दिएको अवस्थामा छ। यस्तो अवस्थामा सबैलाई मिलाएर लैजाने कार्यभार ममाथि आएको छ। त्यही भएर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने जोड मैले सत्ता गठबन्धनमा गरेको छु,’ बैठकमा पार्टी अध्यक्ष दाहालले नेताहरूलाई जानकारी गराएको बैठकमा सहभागी एक नेताले बताए।
उनले राष्ट्रिय सहमतिमा जोड दिँदा गठबन्धनभित्र केही असन्तुष्टि आएको स्पष्ट पारे। भने, ‘राष्ट्रिय सहमतिमा जानुपर्छभन्दा गठबन्धनभित्र केही दलसँग अन्डरस्ट्यान्डिङ बिग्रेको छ। त्यो अनडरस्ट्यान्डिङ पनि मिलाउनुपर्ने छ ।’ -अन्नपूर्ण पोस्टमा समाचार छ ।