राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सभापति तथा निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पुल्चोकस्थित सरकारी निवासबाट बाहिरिएका छन् । शुक्रबार साँझ सर्वोच्च अदालतबाट फैसला आएपछि उनी सरकारी निवासबाट बाहिरिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेर निजी निवास गएका छन् । लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो निजी गाडीमा गएका थिए ।
निर्णय सार्वजनिक भएसँगै मन्त्रालयले उपलब्ध गराएको झन्डावाल गाडी छोडेर अर्को सवारीको व्यवस्था गरिएको र परिवारलाई फोन गरेर मन्त्री क्वाटरसमेत छोडेर घर फर्किन भनेको सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ ।
‘मन्त्रीज्यूले झन्डावाल गाडी छोडिसक्नु भयो’ ती उच्च स्रोतले भने ‘श्रीमतीलाई समेत फोन गरेर मन्त्री क्वाटर छोडेर घर जाउँ भने ।’ यतिबेला उनी गृह मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा छन् ।
सर्वोच्च अदालतले अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गर्ने निर्णय गरेको छ ।