निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन्। आइतबार बिहान साढे ११ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् ।
उनले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। ०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनले प्रशासनमा पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता पाएका हुन।
आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सदाँ भन्दा अलि बढी चहलपहल थियो । लामिछाने नागरिकता पुनः प्राप्तिका लागि आउने भएपछि सञ्चारकर्मीहरूको बाक्लो भीड लागेको थियो । उता सर्वसाधारणहरू हरेक दिन जस्तै लाइन लागेर नागरिकता लिने प्रक्रियामा रहेका थिए ।
करिब साढे ११ बजेलामिछाने दलबलसहित प्रशासन पुगे । त्यहाँ पुग्ने बित्तिकै लाइन मिचेर कार्यालयभित्र छिरेर नागरिकता पुनः प्राप्ति प्रक्रिया अघि बढाए । प्रशासनले पनि तुरुन्तै नागरिकता पुनः प्राप्तिको प्रक्रिया सुरु गरेको थियो ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि लामिछाने आइतबार बबरमहलस्थित प्रशासन कार्यालय पुगेका हुन् ।