प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नै सम्हालेको गृहमन्त्रालय आफ्नै पार्टीसँग राख्ने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकताबिहीन बनेपछि उनी जिम्मेवारीमुक्त भएका थिए ।
अब माओवादी केन्द्रले शक्तिबहादुर बस्नेतलाई गृहमन्त्री बनाउने गृहकार्य थालेको छ । लामिछानेले अदालतको आदेशबमोजिम नागरिकता पूनः प्राप्ति गरेका छन् ।
तर, प्रधानमन्त्री दाहाल भने कुनैपनि हालतमा रास्वपालाई गृहमन्त्रालय नदिने पक्षमा पुगेका छन् । उनले उक्त मन्त्रालय आफ्नै दलमा राख्न चाहेका छन् । हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नव नियुक्त सभापति लामिछानेसँगको भेटवार्तामा पनि दाहालले यस्तो अडान लिएका छन् ।
अहिले दाहाल पार्टी हेडक्वार्टर पेरिसडाँडामा पदाधिकारी बैठकमा छन् । माओवादीनिकट उच्च स्रोतका अनुसार दाहालले आजै गृहमन्त्री नियुक्त गर्नेबारे पदाधिकारी बैठकमा छलफल गरेका छन् । दाहालले गृहमन्त्रीमा पार्टीबाट उपमहासचिव वर्षमान पुनलाई अघि बढाउन चाहेका छन् ।
तर, पुनको स्वास्थ्यले साथ नदिएकाले उनले पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई नै अघि बढाउनसक्ने बुझिएको छ । बस्नेत दाहालको विश्वासपात्रको रुपमा चिनिन्छन् । रास्वपाले भने गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
एमालेले पनि गृहमन्त्रालय रास्वपाको भागमा परेकोले पूनः लामिछानेलाई नै नियुक्त गर्न दबाब दिएको छ । गैरसांसदको रुपमा ६ महिना मन्त्री बन्न सक्ने अवस्था रहेकाले अहिले लामिछानेलाई नै गृहमन्त्री बनाउनुपर्ने ओलीको दबाब छ ।