राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिमा रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटारबाट तितो जवाफसहित रितो हात फर्किएका छन् । उनी गृहमन्त्री माग्न आज पनि बालुवाटार गएका थिए ।
सर्वोच्च अदालतले नागरिकतामा कैफियत ठहर गरेपछि उपप्रधानसहित गृहमन्त्री गुमाएका उनी सोहि पदका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिन बिहानै बालुवाटार गएका हुन् ।
अस्ति दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नयाँ नागरिकता बनाएलगत्तै अपराह्न पार्टीको बैठक राखेर गृह नछोड्ने निर्णय लेखाएका लामिछानेले साँझ प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई गृहमन्त्री बनाउन आग्रह गरेका थिए ।
त्यही विषयमा कुरा गर्न बालुवाटार पुगेका उनी ‘साथीहरु सङ्गसल्लाह गरेर खबर गरौंला’ भन्ने जवाफसहित रित्तै फर्किएका छन् ।
बालुवाटार स्रोतका अनुसार त्यहाँ प्रधानमन्त्रीसँग उनको चर्काचर्की समेत परेको थियो । पासपोर्ट वि’वाद कायमै रहेको अवस्थामा लामिछानेलाई गृहमन्त्री बनाउँदा आफूसमेत नैतिक समस्यामा पर्ने भएपछि प्रधानमन्त्री प्रचण्ड भने त्यसमा सकारात्मक नभएको बताइन्छ।